खाना पकाउन प्रयोग गरिने एलपी ग्यासमध्ये पछिल्लो समय बजारमा नेपाल ग्यासको अभाव देखिएको छ । लामो समयदेखि उक्त कम्पनीको ग्यास अभाव भएको गुनासो उपभोक्ताको छ ।               नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले ग्यास अभावको गुनासो निगममा नआएको बताए । तर जाडो सिजनमा खपत बढ्ने भएकाले मागअनुसार ढुवानी नहुँदा अभाव भएको हुनसक्ने बताए । ‘हामीकहाँ ग्यास अभाव भएको गुनासो आएको छैन । कहीँकतै ढुवानीको समस्याका कारण अभाव भएको होला,’ प्रवक्ता ठाकुरले भने, ‘जाडो  सिजनमा अरु बेलाको तुलनामा ग्यास खपत बढ्छ ।’ माग बढेको समयमा ग्यास ढुवानी गर्ने साधन सीमित भएकाले मागअनुसार कतै समयमा पुग्न नसकेको हुन सक्ने तर अभाव नै सिर्जना हुने गरी अन्य कुनै कारण नरहेको उनको भनाइ छ । तर अहिले ग्यास अभाव हुनुमा ढुवानीमा समस्या नभएको एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरे बताउँछन् । ‘ग्यास अभाव हुनुमा ढुवानीको समस्या होइन, मुख्य समस्या कोटाको हो,’ घिमिरेले भने, ‘ढुवानीका साधन जति भए पनि रिफाइनरीमा माल नभएपछि कहाँबाट ग्यास आउँछ ? निगमले सिलिण्डर बेसको कोटा निर्धारण (वृद्धि) गर्नुपर्ने हो तर त्यो गरेको छैन । रिफाइनरीको समस्याले बजारमा ग्यास अभाव भएको छ ।’

निगमले पछिल्लो समय भारतका बरौनी, पारादीप, दुर्गापुर र कर्नाल रिफाइनरीबाट दैनिक सरदर ८० देखि ११२ बुलेटबाट ग्यास आयात हुँदै आएको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया