‘मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समिति’ले आज र भोलि अरुण पूर्वका ९ जिल्लामा बन्द आह्वान गरेको छ । पाथिभरामा केबलकार निर्माणको विरोधमा पहिचान पक्षधरले आह्वान गरेको बन्दको सामान्य प्रभाव परेको छ ।
प्रहरीका अनुसार आज बिहान मुख्य राजमार्गमा यात्रुबाहक सवारी साधन चलेका छैनन् । कोशी प्रदेश प्रहरी प्रवक्ता भीम दाहालका अनुसार बन्दको प्रभाव ताप्लेजुङमा छ । अन्य जिल्लामा पनि बन्दको प्रभाव परेको छ । उनका अनुसार केही ठाउँमा बन्दकर्ता सडकमा निस्किएका छन् । यातायातका साधन केही चलेका छन् ।
पूर्वपश्चिम राजमार्ग र मेची राजमार्गमा बन्दको प्रभाव बढी देखिएको छ । दुवै सडकमा यात्रुबाहक बस चलेका छैनन् । ठूला चोकहरूमा बन्दकर्ताहरु भेला भएका छन् ।
केबलकार निर्माणको निर्णय खारेज हुनुपर्ने, आन्दोलनका क्रममा पक्राउ परेका नेता कार्यकर्ता छाड्नुपर्ने, मुकुम्लुङमा गोली चलेको घटनाको न्यायीक छानविन गर्नुपर्ने, काफ्ले पार्टीबाट सुरक्षा फौज फिर्ता गर्नुपर्नेलगायत माग राख्दै पहिचान पक्षधरले अरुणपूर्वका नौं जिल्ला (झापा, मोरङ, सुनसरी, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, इलाम र पाँचथर)मा बन्दको आह्वान गरेको छ ।

Online Arthik










