हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सभा काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्डमा आज बिहान साढे १० बजेदेखि सुरु हुनेछ ।
उक्त सभामा आव २०७९/८० का लागि प्रस्ताव गरिएको १४ प्रतिशत बोनस सेयर पारित गरिनेछ । बोनस सेयर जारीपश्चात कम्पनीको चुक्ता तथा जारी पूँजी वृद्धि हुने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
यस्तै सभामा सञ्चालक समितिको आव २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, कम्पनीको आव २०७९/८० को र यस कम्पनीमा मर्ज भएको साविक गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आव २०७९/८० को (मर्ज अघि सम्मको) लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा/नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र त्यससम्बन्धी अनुसूचिहरु तथा नेपाल वित्तीय प्रतिवेदन मानबमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने र आव २०८०/८१ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ २५ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। यसर्थ माघ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

Online Arthik










