लगातारको वर्षाले ‘भिजिविलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसहित देशका विभिन्न विमानस्थलको हवाई उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार खराब मौसम तथा कम ‘भिजिविलिटी’ का कारण आन्तरिक र अन्तराष्ट्रिय उडान प्रभावित भएको छ ।

आइतबार बिहान ‘इन रुट वेदर’ का कारण अन्तर्राष्ट्रियतर्फ जजिर एयरको विमान भारतको बनारस डाइभर्ट हुनुका साथै आन्तरिकमा बुद्ध एयरको पर्वतीय उडान (माउन्टेन फ्लाइट)को विमान डाइभर्ट भएको छ ।

 

काठमाडौं उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भएको थियो । अहिले काठमाडौं आसपास क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौंसहित देशका केही पहाडी भागमा हल्का वर्षा भइरहेको महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’ मा उल्लेख छ ।

बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेकाले वर्षा गराएको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका केही स्थानमा मेघ गर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ ।

 

तपाईको प्रतिक्रिया