माबिलुङ इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि साधारण सेयर (IPO) निष्कासन गर्न लागेको छ। कम्पनीले असार २२ गतेदेखि सेयर आवेदन खुला गर्ने भएको हो।

जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँमध्ये कम्पनीले ४८.९९९८ प्रतिशत सेयर अर्थात् करिब १८ करोड ९० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको छ।

त्यसअनुसार संखुवासभा जिल्लाको मादि नगरपालिका वडा नं. ७, ८, ९ र चैनपुर नगरपालिका वडा नं. २, ३, ७, ८, ९ का स्थायी बासिन्दाहरूका लागि ३ लाख ८५ हजार ८२४ कित्ता सेयर छुट्याइएको छ।

यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि १ लाख ५० हजार ४७१ कित्ता सेयरमा आवेदन दिन सक्नेछन्। दुवै समूहका लागि न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

स्थानीय बासिन्दाहरूले साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा आवश्यक आवेदन नपरेमा साउन ११ गतेसम्म समय थपिनेछ। तर, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने अनिवार्य रूपमा साउन ४ गतेभित्र आवेदन दिनुपर्नेछ।

आवेदनको प्रक्रिया पनि सहज छ—स्थानीयले संखुवासभा जिल्लाभित्रका तोकिएको बैंक तथा स्थानहरूबाट आवेदन दिन सक्नेछन्, जसमा ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक लगायत छन्। आवेदन फारम प्राप्त गर्न दुई रुपैयाँ शुल्क लाग्नेछ।

वैदेशिक नेपालीहरूका लागि भने सी–आस्वा सुविधा प्राप्त बैंक तथा ‘मेरो सेयर’ प्रणालीमार्फत आवेदन दिन सकिनेछ। यस सार्वजनिक निष्कासनको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

तपाईको प्रतिक्रिया