द समिट होटल एन्ड रेसिडेन्सेसले १६ तले भवनको जगका लागि आधारभूत आवश्यक कागजात र नक्सा पास नगरीकनै विना सावधानी गहिरो खाडल खन्दा होटल ग्रिनविच र वरपरका आवासीय घर गरी ६ वटा भवनमा क्षति पुगेको थियो ।
ललितपुर, असार २७
ललितपुरको बखुण्डोलमा ठूलो अपार्टमेन्ट निर्माणका लागि विनासावधानी गहिरो खाडल खनेर आफ्नो भवनमा ठुलो क्षति पु¥याइदिएको द समिट होटल एन्ड रेसिडेन्सेसका लगानीकर्ताले सोको क्षतिपूर्ति दिन आनाकानी गरेको होटल ग्रिनविच भिलेजले गुनासो गरेको छ ।
समिटको १६ तले भवनको जगको लागि खाडल खन्दा २०७९ चैत २४ गते मध्यरातमा वरपरको जमिन भासिएको थियो । जमिन भासिँदा त्यहाँ रहेका दुईवटा घर पूर्ण रुपमा भत्किएका थिए । ग्रिनविच भिलेज होटल सहित ६ वटा भवनमा बस्नै नमिल्ने गरी क्षति भयो ।
नक्सा पास, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) जस्ता भवन निर्माणका आधारभूत कानुनी आवश्यकता नै पूरा नगरी जग खन्दा वरपरका घरहरुमा क्षति पुगेपछि घटनाले ठूलो चर्चा पाएको थियो । विज्ञहरुले दक्ष प्राविधिकको रेखदेखविना नै घना वस्तीको बीचमा गहिरो जग खन्दा पूर्वतर्फ कमजोर सेडवाल बनाएकोले गर्दा उक्त दुर्घटनाको प्रमुख कारण मानेका छन् ।
छिमेकीको संरचनामा भएको क्षतिको परिपूरण नगरी निर्माण कार्य अघि बढाउन नसकिने भएपछि समिटका लगानीकर्ताले पीडितलाई क्षतिपूर्ति गर्ने सहमति गरेका थिए । समिट र पीडितबीच आवासीय भवनका घरधनीलाई गुमेको घरभाडा र व्यवसायीलाई गुमेको नाफा बराबर रकम मासिक रुपमा उपलब्ध गराउने सहमति भएको थियो । नासिएको सम्पत्तिको हकमा प्राविधिकबाट मूल्यांकन गराई मूल्यांकन अनुसारको रकम पीडितलाई उपलब्ध गराउने सहमति थियो ।

समिट होटल प्रा लि तथा अपार्टमेन्ट निर्माणको क्रममा देखिएको समस्या तथा छिमेकीका घरहरुमा पुगेको क्षति सम्बन्धि छानविन गरी राय सुझाव सहितको प्रतिवेदन पेश गर्न मिति २०८०।०१।०३ को नेपाल सरकार मा.मन्त्रीस्तरीयवाट भएको निर्णय अनुसार गठित समितले मिति २०८०।०१।२० मा शहरी विकास तथा भवन निर्माण विभाग समक्ष अध्ययन प्रतिवेदन प्रस्तुत गरेको थियो ।
पछिल्लो समय समिटले ग्रिनविचलाई गुमेको नाफाबापतको रकम पनि भुक्तानी गर्न छाडेको छ ।ग्रिनविचका अनुसार २०८१ मंसिरयता समिटले होटलसँग गरेको सहमति अनुसार दिदै आएको, गुमेको नाफा बापतको बाँकी रकम भुक्तानी गरेको छैन ।
दुवै पक्षको सहमतिमा नियुक्त परामर्शदाता कम्पनी अर्थक्वेक रेसिस्टेन्स टेक्नोलोजीले सम्पत्ति क्षतिको मूल्यांकन गरी प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनअनुसार भवनमा ठुलो क्षति हुँदा ग्रीनविच होटललाई ठुलो धनरासीे बराबर क्षति भएको छ । ग्रिनविचले भुक्तानी तालिका टुंग्याएर समिटका सञ्चालकहरुसँग सम्झौता गर्न खोजेको छ । ‘तर समिटका सञ्चालकहरु यस विषयमा छलफल गर्न बोलाउँदा आउनै मान्दैनन् । प्रतिनिधि पठाइहाले पनि सहमतिमा पुग्दैनन् र लम्ब्याई राख्ने प्रवृतिले ग्रीनविच परिसानीमा देखिन्छ । हामी माइन्युट गरौं भन्छौं, उनीहरु अनेक बहाना गरेर मान्दैनन्,’ ग्रीनविचको गुनासो छ ।
समिटसँगको संझौता अनुसार क्षतिपूर्ति वापत पाउनु पर्ने सम्पुर्ण रकम पाएपछि नयाँ भवन बनाएर ग्रिनविचलाई पुनर्जीवन दिने योजना छ । प्रतिष्ठित व्यवसायी स्वर्गीय श्रीधर आचार्यले ३९ बर्ष पहिले सुरु गरेको ग्रिनविच द्वन्द्वको कठिन कालखण्डलाई पनि सहजै झेलेर आएको होटल हो । ग्रिनविचकै छिमेकमा समिट होटल सञ्चालन गरिरहेका डच व्यवसायी द्वन्द्वकालमा होटल चलाउन नसकेर पलायन भएका थिए । अलि पर कुपण्डोलमा होटल हिमालय सञ्चालन गरिरहेका जापानी व्यवसायी पनि त्यही बेला पलायन भए । तर ग्रिनविच निर्वाध चल्यो । दैनिक राम्रो अकुपेन्सीमा कारोबार गर्ने होटल चलाउन नपाउँदा राम्रो प्रतिष्ठा आर्जन गरिसकेको होटलको अस्तित्व नै समाप्त हुने जोखिम बढेको छ ।

समिट होटल एण्ड रेसिडेन्सले ग्रीनविच भिलेज होटललाई पेलेर जान खोजे जस्तो देखिएको छ । नियमनकारी निकायले कानुनविपरीतको निर्माण कार्य रोकेर क्षतिपूर्तिका लागि समयमा नै दबाब दिएको भए यो समस्या सुल्झिसक्थ्योे ।’
उक्त अपार्टमेन्ट देशका प्रतिष्ठितमध्येका तीन व्यवसायी–सुवर्णकृष्ण श्रेष्ठ, विनोद चौधरीका छोरा राहुल चौधरी अध्यक्ष रहेको, निर्वाण चौधरी(चौधरी ग्रुप) र रविभक्त श्रेष्ठ अध्यक्ष रहेको एनई ग्रुपको लगानीमा निर्माण सुरु भएको हो । नेपालका एक्ला डलर अर्बपति विनोध चौधरी प्रतिनिधिसभा सदस्य समेत हुन् । एकपटक मन्त्री समेत बनेका रविभक्त नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पनि हुन् । सुवर्णकृष्ण सोही स्थानमा दशकौंदेखि सञ्चालनमा रहेको समिट होटलका मालिक र होम मेकर्स तथा नेपाल कमर्सियल प्रा.लिका निर्देशक पनि हुन् । अहिले अर्का प्रतिष्ठित व्यवसायी शर्मा एन्ड कम्पनीका रमेश शर्मा पनि समिटमा लगानीकर्ताको रुपमा भित्रिएको बुझिएको छ । सुवर्ण कृष्ण श्रेष्ठका छोरा सन्चीत कृष्ण श्रेष्ठ समिट होटलका आधिकारीक प्रतिनिधि तथा प्रोजेक्ट म्यानेजर हुनु हुन्छ ।


Online Arthik












