बन्दिपुर केवलकार एण्ड टुरिजम कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि गत साउन ६ गतेदेखि कुल १० लाख ९५ हजार ४०० कित्ता आईपीओ जारी गरेकोमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गरिएको आईपीओ निष्कासन तथा बिक्री आवेदन आजबाट बन्द गर्न लागिएको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ५८ करोड ६० लाख रुपैयाँबराबरको प्रति सेयर रू. १०० अंकित दरका ५८ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो ।
जसमध्ये जारीपूँजीको २ प्रतिशत अर्थात रु. १०० अंकित दरका ५ लाख ६६ हजार ५ सय कित्ता आयोजना प्रभावित क्षेत्र .(तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडाहरु,आँवुखैरेनी गाउँपालिकाका सबै वडा,भानु नगरपालिका वडा न. १ तथा गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा न. ७)का स्थानिय बासिन्दाका लागि र सर्वसाधारणका लागि छुट्टाइएको ५२ लाख ९४ हजार सेयरमध्येको १० प्रतिशत अर्थात रु. १०० अंकित दरका ५ लाख २९ हजार ४०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिएको छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि न्यूनतम १० र अधिकतममा २० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा साउन २० गते र ढिलोमा भदौ ४ गते हुनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणलाई आईपीओ जारी गर्नेछ ।
कम्पनीले दोस्रोचरण अन्गगर्त आम सर्वसाधारणका लागि जारीपूँजीको १८.७०७६ प्रतिशत अर्थात ५२ लाख ९४ हजार कित्ता सेयर जारी गर्नेछ ।

Online Arthik










