समाज कल्याण परिषद्ले विपद् संकटग्रस्त मधेस प्रदेशका समस्या सम्बोधनमा आफ्नो योजना केन्द्रित गर्न अन्तर्राष्ट्रिय संघ संस्थाहरुलाई आह्वान गरेको छ । परिषद्का अध्यक्ष समेत रहनुभएका महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मंगलवार मन्त्रालयमा संस्थाका प्रतिनिधिहरुलाई बोलाई नियमित गतिविधिसँगै मधेसमा खानेपानी र सिंचाईमा काम गर्न आह्वान गर्नुभएको हो । उहाँले परियोजनाको कुल बजेटको २० प्रतिशत नबढ्ने गरी आपतकालिन कोषको मापदण्ड प्रयोग गर्न पनि निर्देशन दिनुभयो । समाज कल्याण परिषद्सँग साधारण सम्झौता भई कार्यन्वयनमा रहेका अन्तर्राष्ट्रिय गैरसंस्थाहरुको चालु परियोजनाहरुमा परियोजनाको कुल बजेटको २० प्रतिशत अर्थात १० करोड रुपैयाको सीमाभित्र रहने गरी परियोजना संशोधन गर्न पनि उहाँले आह्वान गर्नुभयो । परिषद्का सदस्यसचिव मनोज भट्टले तत्काल पानी वितरण र सिँचाइका लागि काम गर्नुपर्ने भएपनि दीर्घकालीन रणनीतिका लागि तथ्यांक संकलन आवश्यक रहेको बताए । उनले तथ्यांकमा आधारित काम गर्न, कार्यक्रम दोहोरिन नदिन र पारदर्शिता कायम गर्न आग्रह गरे ।
अन्तर्राष्ट्रिय संघसंस्थाहरूको छाता संगठन एआईएनका अध्यक्ष डा. एसपी कलौनीले संघसंस्थाहरूले खानेपानी र सिँचाइमा काम सुरु गरिसकेको जानकारी दिए । उनले सरकारी निकायहरूसँग सूचना आदानप्रदान सहज बनाउन परिषद्ले समन्वयकारी भूमिका खेल्नुपर्ने बताए ।
कलौनीका अनुसार, सेभ द चिल्ड्रेन नेपालले सर्लाहीमा ५३४ घरधुरीलाई १० हजार लिटर पानी वितरण गरेको छ । अक्सफामले रौतहट र सर्लाहीका ४ स्थानमा ४ सय घरधुरीलाई सहयोग गरेको छ । प्लान इन्टरनेशनल नेपालले धनुषामा १ हजार घरधुरीलाई पानीको जार वितरण गरेको छ । वर्ल्डभिजन नेपालले महोत्तरी, सर्लाही र रौतहटमा ५०० भन्दा बढी घरधुरीलाई साना सिँचाइ सहयोग पुर्याएको छ । इस्लामिक रिलिफले रौतहट र बारामा १,०५० घरधुरीलाई डिप बोरिङ सेवा प्रदान गरेको छ ।
यसअघि नै बेलायत सरकारद्वारा सञ्चालित स्टार्ट फन्ड नेपाल परियोजना राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा मधेसका ८ वटै जिल्लामा सञ्चालन भइसकेको छ । यो परियोजनाले खानेपानी र सिँचाइमा काम गरिरहेको छ ।
मन्त्री सुडीले भने, ‘मधेस प्रदेशलाई सरकारले आधिकारिक रूपमा विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । त्यसैले परिषद्सँग आबद्ध सबै संघसंस्थाले तत्काल राहत कार्यमा जुट्नुपर्छ । स्थानीय तहसँग समन्वय गरी काम गर्न म सबैलाई आह्वान गर्दछु ।’

Online Arthik










