अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म वित्तीय अवस्थामा सुधार गर्दै घाटाबाट नाफामा प्रवेश गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ७ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको सोही अवधिमा १ करोड ६१ लाख रुपैयाँ घाटामा रहेको थियो।

यद्यपि, विद्युत बिक्री आम्दानीमा भने केही गिरावट देखिएको छ। यो अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १५.१७ प्रतिशतले कम हो। अन्य आम्दानी भने १३ करोड ३ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको कर्मचारी खर्च ६७ लाख ३७ हजार रुपैयाँबाट बढेर ८१ लाख १६ हजार रुपैयाँ पुगेको छ भने प्रशासनिक खर्च ६१ लाख ८ हजार रुपैयाँबाट बढेर ८६ लाख ९० हजार रुपैयाँ भएको छ। वित्त खर्च भने ५ करोड १७ लाख रुपैयाँबाट घटेर ३ करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ।

हाल कम्पनीको रिजर्भको आकार १ करोड ४० लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ। प्रतिसेयर आम्दानी (EPS) ३४.६६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९६.६१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति मूल्य २८४.४३ रुपैयाँ र तरलता अनुपात ८१.३४ प्रतिशत रहेको छ।

अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले वित्तीय व्यवस्थापन सुधार, खर्च नियन्त्रण र आम्दानी स्रोतको विविधिकरणमार्फत आगामी दिनमा थप सशक्त नतिजा प्रस्तुत गर्ने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया