सरकारले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको उपभोग दस्तुर र यातायात सञ्चालनसम्बन्धी निर्देशिका स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार कार र भ्यानका लागि काठमाडौं प्रवेशमा ६५ रुपैयाँ तथा बाहिरिँदा ६० रुपैयाँ, मिनिबस, मिनिट्रक र टिपरका लागि प्रवेशमा ११५ रुपैयाँ तथा बाहिरिँदा ८० रुपैयाँ, बस र ट्रकका लागि प्रवेशमा २६० रुपैयाँ तथा बाहिरिँदा २०० रुपैयाँ, र भारी उपकरण बोकेको सवारीका लागि प्रवेशमा ६०० रुपैयाँ तथा बाहिरिँदा २५० रुपैयाँ शुल्क तोकिएको छ। निर्देशिकाअनुसार सुरुङमार्गमा अधिकतम गति सीमा ६० किमि प्रतिघण्टा तोकिएको छ। पैदल यात्री, दुईपांग्रे, तीनपांग्रे, नन–मोटराइज्ड सवारी, तेल/ग्यास वा विस्फोटक पदार्थ बोकेको सवारी तथा मापदण्डभन्दा ठूलो वा बढी भार बोकेको सवारीको प्रवेशमा प्रतिबन्ध लगाइएको छ। साथै, सुरुङमार्गभित्र ओभरटेक, युटर्न, अनावश्यक हर्न, आकस्मिक लेन परिवर्तन पूर्ण रूपमा निषेध गरिएको छ र हेडलाइट अनिवार्य गरिएको छ। सरकारले यस निर्णयले सुरुङमार्गमा सुरक्षित, व्यवस्थित र द्रुत यातायात सञ्चालनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया