नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको उद्धार प्रक्रिया अन्तिम चरणमा पुगेको छ। बैंक तथा वित्तीय संस्था नियमन विभागका उप-निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा गठन भएको ३ सदस्यीय समितिले व्यक्तिगत निक्षेप फिर्ता, लेखापरीक्षण तथा डुयल डिलिजेन्स अडिट पूरा गरिसकेको छ।
अब बैंकले पुराना संस्थापक सेयरधनीको स्वामित्व रद्द गरी नयाँ लगानीकर्ता भित्र्याउने र पुँजी बढाएर राष्ट्रियस्तरको विकास बैंक बनाउने तयारी गरेको छ। यस अन्तर्गत ठूला निक्षेपकर्ताको निक्षेपलाई पुँजीमा रूपान्तरण वा डिवेन्चरमार्फत पुँजी थप्ने विकल्प पनि खुला गरिएको छ।
हाल बैंकको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेकामा यसलाई बढाएर साढे २ अर्ब रुपैयाँ पुर्याइनेछ, जसअनुसार बैंकको कार्यक्षेत्र राष्ट्रिय स्तरमा विस्तार हुनेछ। सर्वसाधारण सेयरधनी भने यथावत रहनेछन्।
समस्याग्रस्त घोषणापछि पनि बैंकमा १४ करोड ५७ लाख रुपैयाँ निक्षेप थपिएको छ। हाल बैंकमा १ लाखभन्दा बढी निक्षेपकर्ता, ४ अर्ब ६४ करोड रुपैयाँ निक्षेप, २ अर्ब ९७ करोड रुपैयाँ कर्जा र चार अर्बभन्दा बढी दायित्व रहेको छ।

Online Arthik









