एशियन होटल लिमिटेडले व्यवसाय विस्तार र सेवा स्तरोन्नतिका लागि प्रारम्भिक सार्वजनिक प्रस्ताव (IPO) जारी गर्ने घोषणा गरेको छ। कम्पनीले ३५ लाख कित्ता साधारण सेयर निष्काशनमार्फत ३५ करोड रुपैयाँ जुटाउनेछ। जुटाइने रकमबाट होटललाई पाँचतारे स्तरमा उन्नत गर्नुका साथै स्पोर्ट्स कम्प्लेक्स, हेल्थ फिटनेस सेन्टर लगायतका पूर्वाधार विकास गरिनेछ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ। यस सम्बन्धी सम्झौतापत्रमा एशियन होटलका अध्यक्ष पारस अधिकारी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।

सन् २०२१ मा स्थापना भएको होटल एशियन बौद्ध धर्मावलम्बी तथा सांस्कृतिक वातावरणको वास्तविक झल्को दिने उद्देश्यले सञ्चालनमा आएको हो। लुम्बिनीस्थित यस होटलमा ६६ वटा सुविधा सम्पन्न कोठा, स्पा, फिटनेस सेन्टर, क्यासिनो, बेन्क्वेट हल, बाह्य बगैंचा, उच्चस्तरीय सेमिनार, कन्फरेन्स र डेस्टिनेशन वेडिङका सुविधा उपलब्ध छन्।

आईपीओपछि कम्पनीले पोखरा, काठमाडौं र चितवनमा सेवा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ।

तपाईको प्रतिक्रिया