सागर डिष्टिलरी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) मा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले आवेदन दिन पाउने आज अन्तिम दिन भएको छ। कम्पनीले गत साउन २८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो।
यस चरणमा कम्पनीले सार्वजनिक निष्कासन गरिने कुल सेयरको १० प्रतिशत बराबरको रु. १०० अंकित दरका १ लाख ४५ हजार २ सय कित्ता आईपीओ जारी गरेको हो, जसको कुल मूल्य रु. १ करोड ४५ लाख २० हजार बराबर हुन्छ।
नेपाल धितोपत्र बोर्डले गत साउन १२ गते कम्पनीलाई जारी पूँजी रु. ७२ करोड ६० लाखको २० प्रतिशत बराबर अर्थात् १४ लाख ५२ हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति दिएको थियो। सो अनुमतिअनुसार पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ निष्कासन गरिएको हो।
यो सेयर सम्पूर्ण रूपमा बिक्री नभएमा बाँकी सेयरलाई समायोजन गरी आम सर्वसाधारणका लागि दोस्रो चरणमा निष्कासन गरिने कम्पनीले जनाएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता देखि अधिकतम ७ हजार कित्तासम्मको आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन बन्द हुने मिति छिटोमा भदौ १ गते र ढिलोमा भदौ ११ गते बैंकिङ समयपछि हुनेछ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालयहरू तथा मेरो शेयर अनलाइन मार्फत समेत आवेदन दिन सक्नेछन्।
यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले वहन गरेको छ। पहिलो चरणपछि कम्पनीले आम सर्वसाधारणका लागि दोस्रो चरणमा आईपीओ निष्कासन गर्नेछ।

Online Arthik










