स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले नेपाल विद्युत प्राधिकरणलाई निजी क्षेत्रलाई असहयोग गरेर बहादुरी नदेखाउन आग्रह गरेका छन् ।

विद्युत प्राधिकरणको ४०औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले प्राधिकरण र निजी क्षेत्र मिलेर देशलाई समृद्धिको मार्गमा अघि बढाउनुपर्नेमा जोड दिए । उनले ऊर्जा क्षेत्रमा करिब ६५ लाख लगानीकर्ता आवद्ध भइसकेकाले कुनै पनि नीति परिवर्तन गर्दा यसलाई ध्यान दिनुपर्ने बताए ।

डाँगीका अनुसार गत २५ वर्षमा निजी क्षेत्रले ३६०० मेगावाट विद्युत उत्पादनमा पुर्‍याएको योगदानले नेपाललाई खुद निर्यातकर्ता मुलुक बनाउन मद्दत गरेको हो । उनले हालका प्रसारण संरचनाबाट ३५०० मेगावाटसम्म भारत निर्यात गर्न सकिने क्षमता भए पनि उत्पादन अभाव रहेको उल्लेख गर्दै निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा अझै संलग्न गराउन आग्रह गरे ।

उनले सरकारको लक्ष्यअनुसार १५ हजार मेगावाट विद्युत निर्यात गर्न सके वार्षिक ५ देखि ७ खर्ब रुपैयाँ देशमा ल्याउन सकिने विश्वास व्यक्त गर्दै, जलविद्युतमा भएको लगानीलाई सुरक्षित र दीर्घकालीन आम्दानी दिने लगानीको रूपमा परिभाषित गर्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया