टाटाको आइकोनिक एसयूभी नयाँ जेनेरेशन सफारी नेपालमा आधिकारिक रूपमा सार्वजनिक भएको छ । भृकुटीमण्डपमा आयोजित नाडा अटो शोमा टाटाको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले नयाँ सफारीको विक्री सुरु गरेको हो । नयाँ टाटा सफारी अत्याधुनिक प्रविधि र हाइटेक फिचरहरूको कारण हाल चर्चामा रहेको एसयूभी मोडल हो । टाटाको ओमेगा आर्किटेक्चरमा निर्मित यस मोडलको डिजाइन ल्याण्डरोभरबाट प्रेरित भएको हो । प्यासेन्जरहरूको सुविधालाई प्राथमिकतामा राख्दै यसमा बोस मोड जस्ता विशेष फिचर राखिएको छ, जसको माध्यमबाट पछाडिबाटै अगाडिको सिटलाई मिलाउन सकिन्छ ।
यसमा दिइएको ठूलो पानारोमिक सनरुफले सफारीलाई थप आकर्षक बनाएको छ भने टाटाको IRA कनेक्ट कार टेक्नोलोजीमार्फत सेफ्टी, मनोरञ्जन र डाइनोस्टीक फिचरहरूको सुविधा उपलब्ध हुन्छ । आरामदायी सिटको प्रयोगले लामो यात्रामा पनि सहजता र थकानरहित अनुभव दिने विश्वास कम्पनीले व्यक्त गरेको छ । नयाँ सफारीमा ८.८ इन्च फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम र ७ इन्च टीएफटी इन्ट्रुमेन्ट कन्सोलसहितको आकर्षक ड्यासबोर्ड दिइएको छ । यसमा २.० लिटर डिजेल इन्जिन रहेको छ, जसले अधिकतम १७० पीएस पावर र ३५० एनएम टर्क उत्पादन गर्छ । साथै, ६-स्पीड म्यानुअल तथा ६-स्पीड अटोमेटिक दुवै प्रकारका गियरबक्स उपलब्ध छन् ।
नाडा अटो शोमार्फत टाटा सफारीका तीनवटा भेरियन्ट सार्वजनिक गरिएको छ । जसअनुसार Accomplished Plus MT को मूल्य रु. १ करोड २१ लाख ९९ हजार, Accomplished Plus AT को मूल्य रु. १ करोड २९ लाख ९९ हजार र Accomplished Plus Dark AT को मूल्य रु. १ करोड ३१ लाख ९९ हजार तोकिएको छ । सिप्रदी ट्रेडिङले नयाँ जेनेरेशन सफारीले नेपालमा टाटाको ब्रान्ड इमेजलाई अझ बलियो बनाउने र ग्राहकलाई उत्कृष्ट ड्राइभिङ अनुभव दिने विश्वास व्यक्त गरेको छ ।

Online Arthik










