साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेर २,७७६.९० विन्दुमा पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ०.२३ प्रतिशत अर्थात् ६.५१ अंकले बढी हो । बलिया र ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३६ प्रतिशतले बढ्दै ४७७.०६ विन्दुमा पुगेको छ । यस दिन नेप्सेमा सूचीकृत ३१६ वटा कम्पनीका जम्मा १ करोड ३१ लाख २४ हजार ३१० कित्ता सेयरको कारोबार हुँदै ५ अर्ब ६३ करोड ६५ लाख रुपैयाँभन्दा बढीको लेनदेन भएको थियो, जुन अघिल्लो दिनको ६ अर्ब १८ करोडको कारोबारभन्दा कम हो ।
नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारका अनुसार लगानीकर्ता केही समयदेखि पर्ख र हेरको अवस्थामा रहेकाले कारोबार कम हुँदै गएको हो । मौद्रिक नीतिपछि केही समय बढेको बजारमा नाफा बुकिङ र स्टपलसका कारण घटबढ देखिएको उनले बताए । साथै, धितोपत्र बोर्डले अघि सारेको रियल टाइम सेटलमेन्ट तथा अन्तिम १५ मिनेटको औषत निकाल्ने जस्ता विषयले पनि लगानीकर्ताको मनोविज्ञान प्रभावित पारेको उल्लेख गर्दै बजार भने सम्हालिन खोजिरहेको धारणा व्यक्त गरे । अर्का बजार विश्लेषक टेकेन्द्र थपलियाले पनि कारोबार घट्दै जानु बजार स्थिर हुन थालेको संकेत भएको र छिट्टै सकारात्मक प्रभाव देखिने दाबी गरे ।
यस दिन नेप्सेमा सूचीकृत सबै १३ समूह हरियालीमा रहे । बैंकिङ समूह सर्वाधिक ०.५७ प्रतिशतले बढ्दा, विकास बैंक ०.२३, फाइनान्स ०.१७, हाइड्रोपावर ०.२५, लगानी ०.३०, जीवन बीमा ०.२७, उत्पादन तथा प्रशोधन ०.५२, लघुवित्त ०.२६, म्युचुअल फण्ड ०.३०, निर्जीवन बीमा ०.१५, अन्य ०.२४ र व्यापार समूह ०.५१ प्रतिशतले उकालो लागे ।
धेरै कारोबार गर्ने कम्पनीमध्ये युनाइटेड मोदी हाईड्रो अग्रस्थानमा रह्यो, जसले ३१ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्यो । त्यसपछि हिमालयन डिष्टिलरीको २८ करोड ३७ लाख, राधी विद्युत कम्पनीको २० करोड ३३ लाख, बुटवल पावर कम्पनीको १७ करोड ५० लाख र माउन्टेन इनर्जीको १७ करोड ८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।
सेयरमूल्यमा वृद्धि गर्ने कम्पनीमध्ये सान्भी इनर्जी अग्रस्थानमा रह्यो, जसको मूल्य ६.९८ प्रतिशतले बढ्यो । त्यस्तै पियोर इनर्जी ६.०९, इष्टर्न हाइड्रोपावर ४.५८, सिटी होटल्स ३.५८ र बुटवल पावर कम्पनी ३.२२ प्रतिशतले बढेका थिए । यता, सेयरमूल्य घट्ने कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक अग्रस्थानमा रह्यो, जसको मूल्य ६.१४ प्रतिशतले घट्यो । साथै, युनाइटेड मोदी हाईड्रो ४.१८ प्रतिशत र युनियन हाइड्रो २.७२ प्रतिशतले खस्किए ।

Online Arthik










