अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भारतले रुसबाट सस्तो तेल खरिद गरी प्रशोधनपछि महँगोमा बिक्री गरेर ठूलो नाफा कमाएको आरोप लगाएका छन्। ट्रम्प प्रशासनले भारतमाथि लगाएको ५० प्रतिशत करसँगै रुसी तेल खरिदमा थप २५ प्रतिशत ट्यारिफ २७ अगस्टदेखि लागू हुने घोषणा गरिएको छ।
बेसेन्टका अनुसार रुस–युक्रेन युद्धपछि भारतको रुसी तेल आयात ४० प्रतिशतले बढेको छ, जसबाट भारतले १६ अर्ब डलर नाफा कमाएको दाबी गरिएको छ। उनले ब्लुमबर्गलाई दिएको अन्तर्वार्तामा भारतमाथि थप प्रतिबन्ध लगाउन सक्ने संकेत समेत दिएका छन्।
भारतले भने अमेरिकाको निर्णयलाई अनुचित भन्दै आफ्नो राष्ट्रिय हित र आर्थिक सुरक्षाको रक्षा गर्न आवश्यक कदम चाल्ने बताएको छ। वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिनप्रसादका अनुसार भारत–अमेरिका व्यापार सम्झौताबारे पाँच चरणको वार्ता सम्पन्न भइसकेको छ तर आगामी छैटौं चरण अमेरिकी पक्षले स्थगित गरेको छ।

Online Arthik









