एनआईसी एशिया लघुवित्तले प्रगति समीक्षा तथा रणनीतिक योजना बैठक सम्पन्न गरेको छ। सोमबार र मंगलबार काठमाडौँस्थित रोयल बुटिक होटेलमा सम्पन्न दुईदिने कार्यक्रममा अनुगमन अधिकृत र कर्जा असुली अधिकृतलाई सीप तथा क्षमता अभिवृद्धि सम्बन्धी तालिम पनि प्रदान गरिएको थियो।

बैठकमा सातै प्रदेशका प्रमुखसहित ३१ अनुगमन अधिकृत, ९ कर्जा असुली अधिकृतसहित कुल ४७ कर्मचारी सहभागी भएका थिए।

कार्यक्रममा सञ्चालक समिति अध्यक्ष प्रकाश राज शर्माले अन्तर्राष्ट्रिय लघुवित्त अभ्यास, हाल देखिएका समस्या तथा कर्जा गुणस्तर कायम गर्नुपर्ने रणनीतिबारे धारणा राखेका थिए। त्यस्तै, सञ्चालक सदस्य बलराम पौडेलले शाखा स्तरमा प्रभावकारी अनुगमनका उपायबारे उदाहरण प्रस्तुत गरेका थिए।

साथै, प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी, नायव प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे, सहायक महाप्रबन्धक राजेन्द्र न्यौपानेलगायत विभागीय प्रमुखहरुले दैनिक कार्यसम्पादनका चुनौती तथा समाधानका उपाय प्रस्तुत गरेका थिए।

बैठकले गत आवको कार्य प्रगतिसमीक्षा गर्दै चालु आवका लक्ष्य प्राप्तिका लागि आवश्यक रणनीति तय गर्दै सम्पन्न भएको छ।

तपाईको प्रतिक्रिया