रिभर फल्स पावर लिमिटेडले यही भदौ २३ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजीको १०० प्रतिशत (१ः१ अनुपात) मा रु. १०० अंकित दरका ७० लाख कित्ता हकप्रद सेयर जारी गर्दैछ, जसको कुल मूल्य ७० करोड रुपैयाँ हुनेछ।

यस प्रयोजनका लागि कम्पनीले गत साउन २६ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। त्यसैले साउन २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन्। आवेदन दिने अन्तिम मिति असोज १२ गते निर्धारण गरिएको छ।

लगानीकर्ताले प्रभु क्यापिटल (बिक्री प्रबन्धक) र प्रभु बैंकका बेशीसहर, पोखरा, वीरगञ्ज, इलाम, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।

हकप्रद निष्कासनका लागि केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले गत साउन ९ गते यस हकप्रद निष्कासनका लागि स्वीकृति प्राप्त गरेको हो।

तपाईको प्रतिक्रिया