बुङ्गल हाइड्रो लिमिटेडले भदौ १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन र बिक्री खुला गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि बाँकी शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिकित्ता रु. १०० अंकित दरमा सर्वसाधारणका लागि १७ लाख १ हजार ५०० कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको छ। यसअघि आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, तथा कर्मचारीका लागि बाँडफाँट गरिसकेको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ। आवेदन दिने अवधि भदौ १६ गतेदेखि भदौ १९ गतेसम्म रहनेछ भने बाँकी शेयर ढिलोमा भदौ २९ गतेसम्म निष्काशनमा रहने व्यवस्था गरिएको छ।
आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट वा सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ अनलाइन सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन्।

Online Arthik










