आर्थिक वर्ष २०८१/८२ मा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई कुल १७ खर्ब २३ अर्ब २७ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यो वृद्धि १६.५ प्रतिशत रहेको थियो । गत असार महिनामा मात्र १ खर्ब ८९ अर्ब ११ करोड विप्रेषण भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही महिनाको १ खर्ब १७ अर्ब ७८ करोडभन्दा उल्लेख्य रूपमा बढी हो । अमेरिकी डलरमा हेर्दा समेत विप्रेषण आप्रवाह १६.३ प्रतिशतले बढेर १२ अर्ब ६४ करोड पुगेको छ, भने अघिल्लो वर्ष यसमा १४.५ प्रतिशतको वृद्धि भएको थियो । समीक्षा वर्षमा खुद द्वितीय आय १८ खर्ब ७४ अर्ब ३० करोड पुगेको छ, जुन अघिल्लो वर्षको १५ खर्ब ७१ अर्ब २४ करोडभन्दा उच्च हो । यसै अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (नयाँ) लिने नेपालीको संख्या ५ लाख ५ हजार ९५७ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ३३ हजार ३०९ रहेको छ । अघिल्लो वर्ष यी संख्याहरू क्रमशः ४ लाख ६० हजार १०२ र २ लाख ८१ हजार १९५ रहेका थिए । यसले देखाउँछ कि हाल नेपालमा विप्रेषण आप्रवाह मात्र होइन, वैदेशिक रोजगारीका अवसर लिने नेपालीको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ ।

तपाईको प्रतिक्रिया