नेपाल राष्ट्र बैंकले १ हजार दरका ४३ करोड थान नयाँ नोट छाप्ने प्रक्रिया अगाडि बढाएको छ। यसका आधारमा ४ खर्ब ३० अर्ब रुपैयाँ बराबरका नयाँ नोट छापिने भएका छन्।
सहायक प्रवक्ता सुमन न्यौपानका अनुसार राष्ट्र बैंकले यति ठूलो परिमाणमा नोट छाप्ने भए पनि बजारमा भने आवश्यकताअनुसार मात्र पठाइनेछ।
उनका शब्दमा, “अहिले १ हजार दरका ४३ करोड नयाँ नोट छाप्नका लागि प्रक्रिया अगाडि बढाइएको हो। तर, हामी एकैपटक सबै नोट बजारमा पठाउँदैनौं। आवश्यकताका आधारमा मात्र सर्कुलेसन गरिन्छ।”
नोट छपाइका लागि राष्ट्र बैंकले डिजाइन, छपाइ, आपूर्ति र वितरणसम्बन्धी कार्यका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। इच्छुक कम्पनीहरूले सन् २०२५ अक्टोबर ९ तारिखभित्र थापाथलीस्थित बैंकिङ विभागमा प्रस्ताव पेस गर्नुपर्नेछ।
बोलपत्र शुल्क २० हजार रुपैयाँ (वा १४४ अमेरिकी डलर, १२३ युरो, १०७ पाउन्ड) तोकिएको छ। त्यस्तै, बोलपत्र पेस गर्दा ६ करोड ४० लाख रुपैयाँ धरौटी राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

Online Arthik










