नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न बुधबार ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। हाल कुल निक्षेप ७२ खर्बभन्दा बढी पुगेकाले ब्याजदरलाई व्यवस्थित राख्ने उद्देश्यले बैंकले निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ। बोलकबोलमार्फत हुने निक्षेप संकलनमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। न्यूनतम १० करोडदेखि अधिकतम ५ करोडको गुणनफलमा भाग जाने गरी रकम प्रस्ताव गर्न सकिनेछ भने सबैभन्दा कम ब्याजदर बोल्ने संस्थालाई प्राथमिकतामा राखी रकम बाँडफाँट गरिनेछ। आज हुने बोलकबोलको सावाँ तथा ब्याज भुक्तानी २०८२ असोज ५ गते हुने राष्ट्र बैंकले जनाएको छ। खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार, दीर्घकालीन तरलता व्यवस्थापनका लागि अधिकतम ६ महिनासम्म निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था रहेकाले राष्ट्र बैंकले पटक–पटक यस्तो उपकरण प्रयोग गर्दै आएको छ।