अमेरिकी सरकारले भारतमाथि थप २५ प्रतिशत अतिरिक्त कर लगाउँदै आधिकारिक सूचना जारी गरेको छ, जसको कार्यान्वयन भारतीय समयअनुसार अगस्ट २७ बिहान साढे ९ बजेदेखि हुने भएको छ। यसअघि नै २५ प्रतिशत ट्यारिफ तोकिएकोमा अब जम्मा ५० प्रतिशत कर लागू हुनेछ। अमेरिकाले सूचनामार्फत अगस्ट २७ वा त्यसपछि आयात हुने वा गोदामबाट निकालिने सबै भारतीय वस्तुहरूमा नयाँ दर लागू हुने स्पष्ट पारेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट कच्चा तेल खरिद गरेर अप्रत्यक्ष रूपमा युक्रेनविरुद्धको युद्धमा रुसलाई सहयोग गरिरहेको भन्दै कर बढाइएको बताएका छन्, तर भारतले भने यो निर्णयलाई अनुपयुक्त, अव्यावहारिक र तर्कहीन भनेको छ।
यसअघि ट्रम्पले भारतमाथि २६ प्रतिशत कर लगाउने घोषणा गरे पनि त्यसलाई ९० दिनका लागि स्थगित गरिएको थियो। हालको ट्यारिफले भारतबाट हुने करिब ४८.२ अर्ब डलर बराबरको निर्यातलाई प्रभावित पार्ने अनुमान गरिएको छ। विशेषगरी कपडा, छाला, गहना, हीरा, गलैंचा र फर्निचर उद्योगमा ठूलो असर पर्न सक्नेछ, जहाँ ठूलो संख्यामा मानिसहरूले रोजगारी पाएका छन्। तर औषधि, इलेक्ट्रोनिक्स र पेट्रोलियम पदार्थ भने यस दायरामा नपर्ने जनाइएको छ।
अमेरिका भारतको सबैभन्दा ठूलो निर्यात बजार हो। गत वर्ष भारतले अमेरिकामा ८७ अर्ब डलरको सामान निर्यात गरेको थियो, तर नयाँ ट्यारिफ कार्यान्वयनपछि यस वर्ष निर्यात घटेर करिब ४९.६ अर्ब डलरमा सीमित हुने सम्भावना छ।

Online Arthik









