एनआइबीएल एस क्यापिटलले आफ्नो लगानीमा नयाँ आयाम थप्दै चर्चित कफी ब्राण्ड हिमालयन जाभासँग रणनीतिक साझेदारी गरेको छ। यस साझेदारीअन्तर्गत एनआइबीएल इक्विटी पार्टनर्सले हिमालयन जाभामा २८.८ प्रतिशत हिस्सेदारी कायम गरेको छ।

सम्झौतापत्रमा एनआइबीएल एस क्यापिटलका सीईओ शिवान्त पाण्डे र हिमालयन जाभाका संस्थापक गगन प्रधान र आनन्द गुरुङले हस्ताक्षर गरेका छन्। क्यापिटलका अनुसार यो लगानी केवल वित्तीय मात्र नभई रणनीतिक दृष्टिकोण, अनुशासित कार्यान्वयन र दीर्घकालीन मूल्य सिर्जनामा आधारित रहनेछ।

सीईओ पाण्डेले भने, “हामी हिमालयन जाभालाई अझ आधुनिक, विस्तारयोग्य र विश्वस्तरीय प्रतिस्पर्धी बनाउन योगदान गर्नेछौं।” उनले यस साझेदारीलाई घरेलु ब्रान्ड र संस्थागत लगानीकर्ताबीचको सहकार्यबाट क्षेत्रीय नेतृत्व र विश्वस्तरीय सफलताको नमूना बन्ने विश्वास व्यक्त गरे।

हिमालयन जाभाका संस्थापक गगन प्रधानले पनि यो सम्झौताले ब्रान्डलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै भने, “हामीलाई विश्वास छ, यो साझेदारीले नेपाली कफी संस्कृतिलाई उजागर गर्नेछ र नेपाली उद्यमलाई राष्ट्रियकरणतर्फ अघि बढाउनेछ।”

सन् १९९९ मा एक मात्र क्याफेबाट सुरु भएको हिमालयन जाभाले हाल ७० भन्दा बढी शाखा विस्तार गरी नेपाली कफी संस्कृतिको निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको छ। आगामी दिनमा यो साझेदारीले हिमालयन जाभालाई अन्तर्राष्ट्रिय बजारमा प्रवेश गराउन र नेपाललाई विशेष ब्राण्ड कफीको रूपमा स्थापित गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया