संसद विघटनको बटमलाइन जेनजी अभियन्ताहरूले नछाडेपछि स्थगित भएको वार्ता आज पुनः सुरु हुने भएको छ। दिउँसो २ बजे तोकिएको निर्णायक वार्ताका लागि केहीबेरअघि नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल शितल निवास पुगेका छन्। त्यसअघि राष्ट्रपति शितल निवासमै जेनजी अभियानका केही अभियन्ताहरूसँग छलफल गरिसकेका थिए।
स्रोतका अनुसार अब हुने वार्तामा राष्ट्रपति, प्रधान सेनापति, जेनजीतर्फबाट अन्तरिम सरकारका प्रधानमन्त्रीका लागि प्रस्तावित सुशीला कार्की तथा वरिष्ठ कानुन व्यवसायीबीच विस्तृत छलफल हुनेछ। जेनजीले संसद विघटनलाई आफ्नो प्रमुख मागको रूपमा अघि सारेपछि हिजो राति निष्कर्ष टुंगिन नसकेको बताइन्छ। तर राष्ट्रपति भने संसद विघटन नगरी नै अन्तरिम सरकार गठन गर्ने तयारीमा देखिएका छन्।
यसैबीच, संविधानविद्हरूसँग भएको लामो छलफलमा राष्ट्रपति अहिलेको संविधानको दायराभित्र रही संसद विघटन नगरी पनि बाहिरका व्यक्तिलाई प्रधानमन्त्री बनाउन सकिने कानुनी बाटो खोजिरहेका छन्। संसदका साना ठूला दलहरूले पनि सुशीला कार्कीलाई समर्थन गरिसकेका कारण उनी अन्तरिम सरकारको प्रधानमन्त्री हुने लगभग निश्चित देखिएको छ। तर सम्पूर्ण वार्ता संसद विघटनको विषयमै अड्किएको छ।
देश–विदेशले चासोका साथ हेरेको यो राजनीतिक मोडमा जेनजीहरूले आफ्ना मागप्रति लचकता देखाए वा उधारो सहमतिमा जान तयार भए भने आजै पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम प्रधानमन्त्री नियुक्त हुने निश्चित भएको शितल निवास स्रोतले जनाएको छ। गृहमन्त्रालयसहित सम्बन्धित निकायलाई नयाँ प्रधानमन्त्रीको सपथ समारोहको तयारी गर्न पत्र पठाइसकिएको छ।

Online Arthik









