जेनजी आन्दोलनको क्रममा बैंकका विभिन्न शाखा कार्यालय र एटीएम मेसिनमा तोडफोड र लुटपाट भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलका अनुसार संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट करिब ५ करोड रुपैयाँ नगद र १८ किलो सुनसहित ३७/३८ करोड रुपैयाँ बराबरको सम्पत्ति लुटिएको छ।
उनका अनुसार, राष्ट्र बैंक परिसर बाहिर रहेको एनआरएनए भवनमा आक्रमण हुँदा त्यहाँ रहेका केही डिभिजनमा क्षति पुगेको भए पनि, राष्ट्र बैंकको मुख्य कोर काम हुने स्थान भने सुरक्षित रहेको छ।
गभर्नर पौडेलले बताएअनुसार आन्दोलनका क्रममा ६८ शाखा कार्यालय र ६९ एटीएम मेसिनमा क्षति पुगेको छ। तर, अधिकांश ठाउँमा बैंकभन्दा बढी सरकारी कार्यालय र व्यापारिक कम्प्लेक्सलाई लक्षित गरिएको देखिएको छ।
उनीका अनुसार, नबिल बैंकको चाबहिल शाखा र राष्ट्रिय वाणिज्य बैंकको दुहबी शाखामा समेत आक्रमण प्रयास भए पनि ठूलो क्षति भने भएको छैन। भाटभटेनीभित्र रहेको एटीएममा तोडफोड भए पनि मुख्य लक्ष्य भाटभटेनीकै संरचना भएको उनको भनाइ छ।
गभर्नर पौडेलले आन्दोलनको बेला भुक्तानी प्रणाली र डिजिटल पेमेन्ट सेवा अवरुद्ध नभएको र निक्षेपकर्ताको पैसा तथा लकरमा राखिएको सम्पत्ति सुरक्षित रहेको स्पष्ट गरेका छन्।

Online Arthik









