जोमसोम–कोरला राजमार्ग अन्तर्गत उपल्लो मुस्ताङको चराङमा पहिलो पटक विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन स्थापना गरिएको छ । दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बुधबार एक विशेष समारोहबीच उक्त स्टेसनको उद्घाटन गर्नुभयो ।

चार्जिङ स्टेसन सञ्चालनमा आएपछि अब उपल्लो मुस्ताङ हुँदै कोरला नाकासम्म पुग्ने यात्रु तथा विद्युतीय सवारीसाधन प्रयोगकर्तालाई ठूलो सहजता हुने भएको छ । यसअघि जोमसोमदेखि माथिल्लो क्षेत्रमा चार्जिङ सुविधा नहुँदा यात्रुहरूलाई जोमसोममै सवारी साधन छोडेर पैदल वा अन्य साधनमार्फत गन्तव्यसम्म पुग्नुपर्ने बाध्यता थियो ।

यो स्टेसन ओमडा एण्ड जेको नेपाल कम्पनीले स्थापना गरी सञ्चालनमा ल्याएको हो । कम्पनीका प्राविधिक कृष्ण पोखरेलका अनुसार हाल नेपाल विद्युत् प्राधिकरणको ३३ केभी क्षमताको प्रसारण लाइन त्यहाँ नपुगेको कारण तत्कालका लागि सामान्य क्षमताको चार्जिङ सुविधा उपलब्ध गराइएको छ । भविष्यमा प्राधिकरणको प्रसारण लाइन विस्तार भएपछि अझ सशक्त र द्रुत चार्जिङ सेवा उपलब्ध गराउने योजना रहेको उनले जानकारी दिनुभयो ।

चार्जिङ स्टेसन स्थापना गर्ने प्रक्रियामा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय र समुदायबीच विस्तृत छलफल गरिएको थियो । यस परियोजनाले वातावरणमैत्री यातायात प्रवर्द्धन गर्ने मात्र नभई स्थानीयस्तरमा रोजगारी सृजना गर्ने र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।

अध्यक्ष लोप्साङ छोम्फेल विष्टले उद्घाटन कार्यक्रममा बोल्दै चार्जिङ स्टेसन स्थापनाले उपल्लो मुस्ताङको विकास, पर्यटन र विद्युतीय सवारीसाधन प्रयोगलाई थप सहज र प्रोत्साहन गर्ने उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया