सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकलाई समेत मताधिकार प्रयोग गर्ने व्यवस्था मिलाउने तयारी गरेको छ। यसबारे गृहमन्त्री ओमप्रकाश अर्यालले आज निर्वाचन आयोगमा भएको छलफलमा विस्तृत जानकारी गराउँदै सम्भव भएसम्म व्यापक व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।

गृहमन्त्री अर्यालले सर्वोच्च अदालतले यसअघि नै विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अवसर दिन आदेश गरिसकेको स्मरण गर्दै यसपालिको निर्वाचनमा कम्तीमा समानुपातिक प्रणालीतर्फ भए पनि सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो। “देशमा लोकतन्त्रलाई मजबुत बनाउन र नागरिक अधिकारलाई सुनिश्चित गर्न परदेशमा रहेका नेपालीलाई पनि मतदानको अवसर दिनैपर्छ,” मन्त्री अर्यालको भनाइ छ।

सरकारले सम्भव हुने देशहरूमा अवस्थित नेपाली राजदूतावासहरूमा प्रत्यक्ष मतदानको व्यवस्था गर्ने र सम्भव नभएका स्थानमा भने प्रविधिको सहायताबाट मतदान प्रणाली कार्यान्वयन गर्ने तयारी गरेको छ। यससँगै, प्रविधि प्रयोग गर्दा सुरक्षात्मक उपाय, पारदर्शिता र विश्वासिलो प्रणाली विकासमा ध्यान दिने गृहमन्त्री अर्यालले उल्लेख गर्नुभयो।

उहाँले आवश्यक परे कुनै कानुनी अवरोध वा जटिलता आए अध्यादेशमार्फत समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। यसका साथै, यसपटकको निर्वाचनमा नो भोट को व्यवस्था समेत मिलाइने जानकारी दिनुभयो, जसले मतदातालाई थप विकल्प प्रदान गर्नेछ।

यस निर्णयले विदेशमा रहेका लाखौँ नेपालीलाई लोकतान्त्रिक प्रक्रियामा प्रत्यक्ष सहभागिता गर्ने अवसर दिने अपेक्षा गरिएको छ। सरकारको यो कदमले दीर्घकालीन रूपमा समावेशी लोकतन्त्रको अभ्यासलाई बल पुर्‍याउने र नागरिकको विश्वासलाई अझ सबल बनाउने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया