हेटौंडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योग थपिने क्रम तीव्र हुँदै गएको छ। यसै क्रममा हिमालय एसीपी बोर्डस् प्रालि (एलुमिनियम बोर्ड उत्पादन) र टीका इन्डष्ट्रिज प्रालि (चकलेट उत्पादन) निकट भविष्यमा सञ्चालनमा आउने भएका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार दुवै उद्योग आगामी एक-दुई साताभित्र उत्पादन सुरु गर्ने तयारीमा छन्।
यसअघि लामो समयदेखि बन्द रहेका दुई उद्योगको सम्झौता रद्द गरी सोही स्थानमा यी नयाँ उद्योग सञ्चालनका लागि सम्झौता भएको हो। हालै लक्की पोलि इन्डष्ट्रिज र टोटल प्याकेजिङ प्रालि प्लास्टिकजन्य सामान उत्पादनमा आइसकेका छन् भने थ्रिस्टार ग्रुप र बाबा मेनिफ्याक्चर प्रालि पनि उत्पादनमा छन्।
सूचना अधिकारी नेपालका अनुसार हाल औद्योगिक क्षेत्रमा विभिन्न प्रकारका १३ उद्योग निर्माणाधीन अवस्थामा छन्, जसमा अधिकांश अन्तिम चरणमा पुगेका छन्। त्यस्तै, लामो समयदेखि बन्द रहेको सुप्रिम मेटल उद्योगले फलामको काँटी उत्पादन पुनः सुरु गरिसकेको छ।
बन्द रहेका अन्य उद्योगमध्ये डाइनेष्टी डिष्टलरी, ग्रिन गोल्ड इन्टरनेसनल प्रालि, साउथ एसियन पोलिपाइप प्रालि र बानियाँ मल्टि प्राडक्ट प्रालि समेत सञ्चालनमा ल्याउने तयारी सञ्चालकहरूले गरिरहेको जानकारी दिइएको छ।
सन् २०२० मा अमेरिकाको आर्थिक सहयोगमा स्थापना भएको हेटौंडा औद्योगिक क्षेत्रमा हाल १४६ उद्योग तथा प्रतिष्ठानले ३,२२८ रोपनी क्षेत्रफलमध्ये २,१७८ रोपनी जमिन भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन्। यस क्षेत्रमा खाद्य उद्योग, युनाइटेड ब्रुअरी, गोर्खा ब्रुअरी, एसियन पेन्ट्स, पशु आहारा दाना उद्योग र कार्टुन उद्योगजस्ता प्रतिष्ठित कम्पनीहरू सञ्चालनमा छन्।
औद्योगिक क्षेत्र परिसरमा हेटौंडा दुग्ध वितरण आयोजना, प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यालय, बीउबिजन कम्पनी, माटो परीक्षण कार्यालय, इलाका प्रहरी कार्यालय तथा नेपाल बैंक लिमिटेडको शाखा समेत सञ्चालनमा रहेका छन्।

Online Arthik









