नेपालको स्थानिय बजारमा आज फेरि सुनको मूल्यले नयाँ इतिहास रचेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज प्रतितोला सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३,९०० रुपैयाँले वृद्धि भई २ लाख २१ हजार ७ सय रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च स्तर हो, जसले बजारमा सुनको माग र आपूर्तिबीचको असन्तुलनलाई पनि प्रष्ट पार्छ।
यसअघि असोज ६ गते सुनको मूल्यले नयाँ उच्च स्तर कायम गरेको थियो। त्यतिबेला प्रतितोला २ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको थियो। तर आजको मूल्यले सोही रेकर्डलाई समेत तोड्दै फेरि सुन बजारमा ऐतिहासिक मूल्य वृद्धिको संकेत गरेको छ।
सुन मूल्य वृद्धिले स्थानिय बजार मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि यसको प्रभाव परिरहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा अमेरिकाको मौद्रिक नीतिमा देखिएको अनिश्चितता, कच्चा तेलको मूल्यवृद्धि, भू–राजनीतिक तनाव, र लगानीकर्ताको बढी ध्यान सुनतर्फ आकर्षित हुनुजस्ता कारणहरूले मूल्यमा थप दवाव परेको बताइएको छ।
यता, चाँदीको मूल्य पनि आज उकालो लागेको छ। प्रतितोला चाँदी ३० रुपैयाँले बढ्दै २ हजार ६८० रुपैयाँमा कारोबार भइरहेको छ। यसले बहुमूल्य धातुको बजारमा समग्र रुपमा चहलपहल बढाएको संकेत गर्छ।
महासंघका पदाधिकारीहरूले सुन र चाँदी दुवैको मूल्यमा देखिएको लगातारको वृद्धि आयात, निर्यात र बजार कारोबारमा प्रत्यक्ष असर पार्ने बताएका छन्। साथै, उपभोक्ताहरूलाई सुन खरीद–विक्रय गर्दा अझ बढी सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बजार मूल्यमा हुने हरेक उतार–चढावको निगरानी गर्दै पारदर्शी सूचना सार्वजनिक गर्ने प्रतिबद्धता दोहोर्याएको छ।

Online Arthik










