पूर्वी नाका काँकरभिट्टाबाट हुने व्यापारिक गतिविधिमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा मिश्रित अवस्था देखिएको छ। मेची भन्सार कार्यालयका अनुसार साउन र भदौ महिनामा यो नाकाबाट हुने आयात उल्लेख्य रुपमा बढेको छ भने निर्यातमा भने उल्लेख्य गिरावट आएको छ।

कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार चालु आवको दुई महिनामा ८ अर्ब १९ करोड एक लाख रुपैयाँ बराबरको मालसामान आयात भएको छ। यो अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा ६८ करोड ८ लाख रुपैयाँ अर्थात् करिब ९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यसै अवधिमा ७ अर्ब ५० करोड ९२ लाख बराबरको सामान आयात भएको थियो।

यता, निर्यात पक्षमा भने कमी आएको छ। चालु आवको दुई महिनामा ३ अर्ब ६ करोड ३७ लाख बराबरका सामान विभिन्न मुलुकमा निर्यात भएका छन्। अघिल्लो आवको सोही अवधिमा निर्यात रकम ३ अर्ब ८६ करोड २८ लाख रुपैयाँ थियो। यसरी हेर्दा, चालु आवको निर्यात अघिल्लो वर्षको तुलनामा करिब २०.६९ प्रतिशतले घटेको हुमागाईंले जानकारी दिए।

निर्यात हुने मुख्य वस्तुहरूमा अलैंची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनिउर सिट र मोलासिस रहेका छन्। यिनै वस्तुहरू परम्परागत रूपमा नेपालको प्रमुख निर्यात सूचीमा रहेका भए पनि पछिल्लो समय अन्तर्राष्ट्रिय बजार मूल्य, प्रतिस्पर्धा, माग र ढुवानी व्यवस्थामा देखिएका चुनौतीका कारण निर्यात रकम घटेको अनुमान गरिएको छ।

आयात पक्षमा भने पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराको कच्चा पदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन र तयारी कपडाजस्ता वस्तु प्रमुख छन्। यी वस्तुहरू नेपालमा बढ्दो उपभोग, कच्चा पदार्थको आवश्यकतासँगै विदेशी बजारमा निर्भर रहनुपर्ने अवस्थाका कारण आयात वृद्धि भएको देखिन्छ।

भन्सार कार्यालयका अनुसार चालु आव २०८२/८३ को पहिलो दुई महिनामा आयात–निर्यातबाट जम्मा २ अर्ब ६२ करोड ९५ लाख १८ हजार रुपैयाँ राजस्व संकलन भएको छ। यो अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा २० करोड ८६ लाख ९ हजार अर्थात् ८.६२ प्रतिशतले बढी हो।

कार्यालयले आयात वृद्धिले राजस्व संकलनमा सकारात्मक प्रभाव पारेको बताए पनि निर्यात घट्नु भने नेपालको व्यापार घाटा अझै बढ्ने संकेत भएको बताएको छ। यसले दीर्घकालीन रुपमा नेपालको विदेशी मुद्रा सञ्चिति, व्यापार सन्तुलन र आर्थिक स्थायित्वमा असर पार्न सक्ने विज्ञहरूको बुझाइ छ।

तपाईको प्रतिक्रिया