नेपाल बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई अध्यक्षमा नियुक्त गरेको हो। शुक्रबार अर्थमन्त्री रामेश्वर खनालले नवनियुक्त अध्यक्षलाई शपथग्रहण गराएका छन्। शर्मा आजै पदभार ग्रहण गर्ने जनाइएको छ।

शर्मा अर्थमन्त्रालयका सहसचिव हुन्। यसअघि असार ३० गते केपी शर्मा ओली नेतृत्वको सरकारले सहसचिव सेवन्तक पोखरेललाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। उनलाई ‘अर्को व्यवस्था नभएसम्म’ भन्ने आधारमा अध्यक्षको जिम्मेवारी दिइएको थियो। त्यही अवधिमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझाले सर्वोच्च अदालतको अन्तरिम आदेश लिएर भदौ ३१ गते प्राधिकरणमा हाजिर गरेका थिए। सोही दिन प्राधिकरणमा दुई अध्यक्ष—पोखरेल र ओझाले एकैसाथ उपस्थित भएपछि विवाद चुलिएको थियो।

गत असार ३० गते सरकारकै निर्णयअनुसार अध्यक्ष ओझाको योग्यतामाथि छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो। सो निर्णयसँगै ओझा स्वतः निलम्बित भएका थिए। उक्त छानबिन प्रक्रियापछि उनले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। अहिले पनि उनको योग्यतासम्बन्धी विवाद सर्वोच्चमा विचाराधीन छ।

अन्तरिम सरकार बनेसँगै अर्थमन्त्री रामेश्वर खनालले जनकराज शर्मालाई बीमा प्राधिकरणको नयाँ अध्यक्षका रूपमा नियुक्त गरेका हुन्।

तपाईको प्रतिक्रिया