सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित योजनाहरुको आ.व. २०८१/८२ को मुनाफा तथा सो अवधिसम्मको संचित कोषबाट लाभांश वितरण कार्य सुरु गरेको छ। यसअन्तर्गत सिटिजन्स म्युचुअल फण्ड–२ बाट करसहित ८.२५ प्रतिशतका दरले रु. ४,६२,००,००० र सिटिजन्स सुपर ३० म्युचुअल फण्डबाट करसहित १२.७५ प्रतिशतका दरले रु. ९,५७,१७,२९७ बराबरको नगद लाभांश मिति २०८२ भाद्र २० गतेदेखि वितरण थालिएको छ। साथै, सिटिजन्स म्युचुअल फण्ड–१ मिति २०८१ माघ १९ गते परिपक्व भई खुद सम्पत्ति मूल्य रु. ११.३० का दरले करसहित रु. ९२,६६,०३,७२३ (जसमध्ये अन्तिम वर्षको १३ प्रतिशत लाभांश रु. १०,६६,०३,७२३ समेत) को वितरण कार्य मिति २०८२ जेठ २७ गतेदेखि भईरहेको जानकारी गराइएको छ। यससँगै, सिटिजन्स क्यापिटल लिमिटेडले आफ्नै मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई रु. ३,२०,००,००० बराबरको लाभांश मिति २०८२ भाद्र २० गतेदेखि वितरण प्रारम्भ गरेको छ। सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतका बिगतका आर्थिक वर्षहरूमा वितरण गरिएको तर अझै नबुझिएका नगद लाभांशका इकाइधनीहरूले आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराई लाभांश बुझिलिनका लागि सिटिजन्स क्यापिटल लिमिटेडमा सम्पर्क गर्न अनुरोध गरिएको छ। नेपाल धितोपत्र बोर्डबाट सामुहिक लगानी कोष व्यवस्थापन, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), संस्थागत परामर्श सेवा, धितोपत्र प्रत्याभूतिकर्ता (अन्डरराइटर), शेयर रजिष्ट्रार तथा डि–म्याट खाता सेवा सञ्चालनको अनुमति प्राप्त सिटिजन्स क्यापिटल लिमिटेड सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनी हो। कम्पनीमा श्री कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सह–लगानी रहेको छ भने संस्थाको दर्ता कार्यालय डिल्लीबजार, बाटुलेघर, काठमाडौंमा रहेको छ। कम्पनीका अध्यक्ष श्री राजेन्द्र लाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत श्री सबिर बादे श्रेष्ठ रहेका छन्।

तपाईको प्रतिक्रिया