स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबान) ले पुँजी बजार सुधार कार्यदलले बुझाएको प्रतिवेदनको स्वागत गर्दै त्यसलाई तत्काल कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरेको छ। अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा गठित कार्यदलले धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा प्रतिवेदन बुझाएको हो।

अर्थमन्त्री खनालले प्रतिवेदन प्राप्त गरेसँगै धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई आवश्यक कदम चाल्न निर्देशन दिएका छन्। त्यससँगै एसबानले पनि प्रतिवेदनमा समेटिएका सुधारका उपायहरू तुरुन्त कार्यान्वयन गर्न जोड दिएको छ।

एसबानका अध्यक्ष सागर ढकालका अनुसार प्रतिवेदनमा सेयर धितो कर्जाको सीमा हटाउने, बैंक तथा वित्तीय संस्थामाथिको सेयर कारोबार सम्बन्धी बन्देज हटाउने, नयाँ औजारहरू भित्र्याउने, नेप्सेको पुनर्संरचना र निजीकरण लगायतका सुझाव समेटिएका छन्। उनले यी सुझावहरू कार्यान्वयनमा ल्याउन सके नेपालको पुँजी बजार दिगो विकासतर्फ उन्मुख हुने विश्वास व्यक्त गरे।

ढकालले विगतमा बनेका कार्यदलका सुझावहरू कार्यान्वयनमा नआएका अनुभव दोहोरिन नदिन चेतावनी दिंदै अर्थमन्त्री खनालको सक्रियताप्रति धन्यवाद व्यक्त गरे। उनले भने, “यदि यसपालि ती सुझावहरू तीव्र गतिमा कार्यान्वयन गरिए, नेपालको पुँजी बजारको भविष्य अत्यन्त उज्ज्वल हुनेछ।”

तपाईको प्रतिक्रिया