दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच कम्पनीको प्राथमिक शेयर (IPO) जारी तथा बिक्री प्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार मुक्तिनाथ क्यापिटलले दूधपोखरी चेपे हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक (Issue Manager) को रूपमा कार्य गर्नेछ।
एक समारोहबीच दूधपोखरी चेपे हाइड्रोपावरका अध्यक्ष सबिन प्रधानाङ्ग र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो।
दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडले गोरखा र लमजुङ जिल्लाको सिमानामा पर्ने ऐतिहासिक चेपे खोलामा ११ मेगावाट क्षमताको आयोजना निर्माण कार्य अगाडि बढाइरहेको छ। कम्पनीले २०७४ कात्तिकमा ऊर्जा विकास विभागबाट विद्युत् उत्पादन सर्वेक्षण अनुमति प्राप्त गरेको र २०७५ मंसिरमा नेपाल विद्युत् प्राधिकरणसँग ग्रिड कनेक्शन सम्झौता तथा २०७५ पुषमा विद्युत् खरिद सम्झौता (PPA) सम्पन्न गरेको छ।
हालसम्म आयोजना करिब ७८ प्रतिशत सम्पन्न भइसकेको र बाँकी कार्य २०८२ चैत्र महिनाको अन्त्यसम्म सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ। अनुभवी जलविद्युत् तथा वित्तीय विज्ञहरूको सहभागितामा कम्पनीको सञ्चालक समितिले परियोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।
कम्पनीले आयोजना निर्माण अन्तिम चरणमा पुगेकाले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबरको रु. २० करोड २० लाख अर्थात् २० लाख २० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि प्रति शेयर रु.१०० अंकित दरमा निष्काशन गर्ने तयारी गरेको छ।
कार्यक्रममा कम्पनीका अध्यक्ष प्रधानाङ्गले यस सम्झौताले आयोजना तथा लगानीकर्ताबीचको सम्बन्ध सुदृढ गर्दै पूँजी बजारमा जलविद्युत् क्षेत्रमा लगानी विस्तारमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।


Online Arthik











