गत असोज १८ गतेको वर्षापछि पहिरोले अवरुद्ध भएको मेची राजमार्गको इलाम नगरपालिका–९ राजदुवाली सडक खण्ड अझै सञ्चालनमा ल्याउन नसकिने भएको छ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार भू–स्खलन र लगातार सडक भासिने समस्याका कारण सडक पुनः खुलाउन कठिनाइ भएको हो।

सडक बन्द भएको ९ दिन भइसकेको छ, जसले झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा सवारी आवागमनमा ठूलो समस्या निम्त्याएको छ।

हाल वैकल्पिक मार्ग पहिचान गरी साना सवारी सञ्चालनको तयारी भइरहेको छ।
हालका लागि तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल मार्ग प्रयोग भइरहेको छ भने सोमबारदेखि तिल्केनी–सिमलगो सडकमार्ग हुँदै साना सवारी सञ्चालन गर्ने तयारी गरिएको छ।

तर, ठूला सवारी साधनका लागि उपयुक्त वैकल्पिक मार्ग अहिलेसम्म फेला परेको छैन, किनभने वैकल्पिक सडकहरू साँघुरा र तीव्र मोड भएका छन्।

यसैबीच, सडक डिभिजन कार्यालय इलामले राजदुवाली सडक खण्डको पुनर्निर्माण कार्य हालका लागि स्थगन गरेको जनाएको छ।
सूचना अधिकारी अर्जुन घिमिरेका अनुसार स्रोत साधन र जनशक्ति वैकल्पिक मार्गमा केन्द्रित गरिएकाले पुनः निर्माण कार्य पछि सुरु गरिनेछ।

तपाईको प्रतिक्रिया