‘जेनजी आन्दोलन’का नाममा स्थानीयको दबाबपछि भोटेकोशी पावर कम्पनीले ४५ मेगावाटको अपर भोटेकोशी जलविद्युत् आयोजनामा स्थानीय समूहलाई १० प्रतिशत शेयर दिने सहमति गरेको छ।

‘भोटेकोशी जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेड’ नामक कम्पनीमार्फत स्थानीय समूहले १० प्रतिशत शेयर माग्दै एक महिनादेखि आयोजना बन्द गराएको थियो। आइतबार दुबै पक्षबीच शेयर लेनदेन सम्झौता भएसँगै आयोजना पुनः सञ्चालनमा आएको हो।

सम्झौता पत्रमा जेन–जी इन्भेष्टमेन्टका अध्यक्ष फुर्पा शेर्पा र भोटेकोशी कम्पनीका सचिव विश्वमोहन कर्माचार्यले हस्ताक्षर गरेका छन्।

स्रोतका अनुसार, २० हजार शेयर सदस्य रहेको कम्पनीले उक्त १० प्रतिशत शेयर डिभिडेन्ड र बोनसबाट मूल्य समायोजन हुने गरी खरिद गर्नेछ।

यसअघि आयोजनाले स्थानीयलाई ६ प्रतिशत शेयर दिने सम्झौता गरेको थियो, तर जेनजी आन्दोलनका क्रममा स्थानीय समूहले निःशुल्क १० प्रतिशत शेयर माग्दै आयोजना बन्द गराएका थिए। अन्ततः दुवै पक्षबीच सहमति बनेपछि १० प्रतिशत शेयर सशुल्क दिने गरी सम्झौता भएको हो।

तपाईको प्रतिक्रिया