नेपालमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै सबैभन्दा उच्च दर हो।
अघिल्लो दिन अर्थात् सोमबार सुनको मूल्य २ लाख ४० हजार ४०० रुपैयाँ थियो। यसरी २४ घण्टाभित्रै तोलामा ८ हजार १०० रुपैयाँले वृद्धि भएको हो। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीव्र रूपमा बढिरहेको र त्यसको सीधा प्रभाव नेपाली बजारमा परेको हो।
विशेषज्ञहरूले यो वृद्धिको कारण आर्थिक अनिश्चितता, भू–राजनीतिक तनाव, र लगानीकर्ताको सुरक्षित लगानीतर्फ आकर्षण रहेको बताएका छन्।
यस्तै, चाँदीको मूल्य पनि बढ्दै हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। सोमबार प्रतितोला ३ हजार २२० रुपैयाँ रहेको चाँदी मंगलबार बढेर ३ हजार ३२५ रुपैयाँ पुगेको छ।
विश्लेषकहरूका अनुसार, आगामी केही दिनसम्म सुन–चाँदी दुबैको मूल्य उच्च स्तरमै उतारचढावका साथ रहिरहने सम्भावना रहेको छ।

Online Arthik










