भृकुटीमण्डपमा आयोजित पाँच दिने तेस्रो तिहार फ्लोरा एक्स्पो शनिबार सम्पन्न भएको छ। नेपाल नर्सरी व्यवसायी सङ्घद्वारा आयोजित एक्स्पोमा करिब एक करोड रुपैयाँको कारोबार भएको सङ्घकी उपाध्यक्ष तथा एक्स्पो संयोजक लक्ष्मी महर्जनले जानकारी दिइन्।
एक्स्पोमा ३५ हजारभन्दा बढी अवलोकनकर्ता सहभागी भएका थिए। समापन कार्यक्रममा पूर्वमन्त्री गणेश साहले वातावरण संरक्षणमा सबैको सहभागिता आवश्यक रहेको बताउँदै ‘वातावरण जोगाऊ’ अभियानमा जोड दिए। अभिनेत्री मनीषा कोइरालाले परम्परागत रैथाने बिरुवाको संरक्षण र संवर्द्धनमा जोड दिइन्।
सङ्घका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले आगामी एक्स्पोहरूमा रैथाने बिरुवा र घरेलु नर्सरीलाई प्राथमिकता दिने तथा प्रतिस्पर्धात्मक सहभागिता सुनिश्चित गर्ने योजना रहेको बताए।
एक्स्पोमा ७० स्टल रहेका थिए, जसमा फूल, नर्सरी, मलखाद, बीउबिजन, औजार, विषादी र प्रविधि सम्बन्धी सामग्री प्रदर्शित गरिएको थियो। एक्स्पोको प्रवर्द्धन पुष्प विकास केन्द्र र वनस्पति विभागले गरेका थिए।

Online Arthik










