देशभर देखिएको प्रतिकूल मौसमका कारण मुलुकका हवाई उडानहरू सामान्य रूपमा प्रभावित भएका छन्। मौसममा आएको खराबीका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडानमा ढिलाइ भएको हो। अहिले अन्तर्राष्ट्रिय उडानहरू केही समयदेखि ‘होल्ड’मा रहेका छन् भने हिमाली क्षेत्रका लुक्लाको तेञ्जिङ–हिलारी, हुम्लाको सिमीकोटलगायत विमानस्थलमा पनि उडान प्रभावित भएका छन्।

विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार खराब मौसमका कारण अहिले ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ (IFR) अनुसारका उडान मात्र भइरहेको छ। “केही उडान डिले भएका छन्, तर रद्द गर्नुपर्ने अवस्था आएको छैन,” उनले बताए। निश्चित हवाई रुटमा चाप बढेकाले पनि उडानमा सामान्य ढिलाइ भएको उनको भनाइ छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ। यस प्रणालीको प्रभावले गएरातिदेखि बुधबार बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

काठमाडौं उपत्यकाको आकाशमा पनि बिहानदेखि बद्ली देखिएको छ।

तपाईको प्रतिक्रिया