हाल देशभर पश्चिमी वायूको प्रभावसँगै अरव सागरमा बनेको न्यून चापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त संयुक्त प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित बाँकी पहाडी भू–भागमा अधिकांश स्थानमा बदली रहने र तराई भू–भागमा सामान्यतया बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ भने गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा पनि मध्यम वर्षा हुन सक्छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा र देशका उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यम हिमपातको सम्भावना रहेको छ।

आज राति पनि देशको अधिकांश भू–भागमा बादल छाउने क्रम जारी रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने बाँकी पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम हिमपात हुन सक्ने अनुमान गरिएको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी हिमपात र कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा पनि हुनसक्ने महाशाखाले जनाएको छ। यस अवस्थामा जनतालाई आवश्यक सतर्कता अपनाउन र सम्भावित जोखिम क्षेत्रहरूमा सजग रहन सुझाव दिइएको छ।

तपाईको प्रतिक्रिया