सोलुखुम्बु जिल्लाको लोबुचेमा अल्टिच्युड एयरको दर्ता नम्बर ‘९एन–एएमएस’ भएको हेलिकप्टर बुधबार बिहान दुर्घटनाग्रस्त भएको छ। हेलिकप्टरमा चालक (क्याप्टेन) विवेक खड्का मात्र सवार थिए र उनी सुरक्षित रहेका छन्। यात्रु सवार नभएकाले दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टरमा भएको क्षतिका आधारमा यसलाई ‘दुर्घटना’ को श्रेणीमा राखिएको छ।
प्राधिकरणका एक अधिकारीका अनुसार यो दुर्घटना ‘ह्वाइटआउट’ अर्थात् हिउँको घेराबन्दीमा परेर भएको देखिन्छ। मंगलबारदेखि उक्त क्षेत्रमा हिउँ पर्न थालेको थियो, जसले हेलिकप्टर अवतरणका क्रममा दृश्यता (भिजिबिलिटी) कमजोर बनायो। लुक्लाबाट बिहान ७:४१ मा उडेको हेलिकप्टर ७:५२ बजे लोबुचेमा अवतरण गर्ने क्रममा हल्का हिउँ उड्दा त्यसले हेलिकप्टरलाई ढाकिदियो। भिडियोहरूमा हिउँ परेजस्तो देखिए पनि त्यो हेलिकप्टरकै रोटरले उडाएको हिउँ भएको बताइएको छ।
एभिएसन भाषामा यस्तो अवस्थालाई ‘ह्वाइटआउट’ भनिन्छ, जब चारैतिर सेतो हिउँले ढाक्दा पाइलटले जमिन र आकाश छुट्याउन सक्दैनन्। धुलाम्य हेलिप्याडमा हुने यस्तै अवस्थालाई ‘ब्राउनआउट’ भनिन्छ। यस्तो अवस्थामा हेलिकप्टर अवतरण गर्न खोजिएको स्थानभन्दा फरक ठाउँमा टच भएर दुर्घटना हुनसक्छ। विशेषगरी हिउँले ढाकिएको हेलिप्याडमा कुन भाग कडा वा नरम छ भन्ने पहिचान कठिन हुने भएकाले जोखिम झनै बढ्ने गर्छ।
प्राधिकरणका अनुसार सामान्यतया यस्तो जोखिम थाहा पाएका पाइलटले पहिले हेलिकप्टरको पंखाबाट हिउँ वा धुलो उडाएर अवतरणको जोखिम घटाउने गर्छन्। आजको घटनाअघि क्याप्टेन खड्काले दुई उडान पूरा गरिसकेका थिए, जसबाट जोखिमको पूर्वआकलन गर्न सकिने भए पनि दुर्घटना टार्न नसकिएको जनाइएको छ।


Online Arthik











