मेडिकेयर हस्पिटल लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट १०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। हस्पिटलको सञ्चालक समितिको कात्तिक ७ गते बसेको बैठकले चुक्ता पुँजीको करसहित ४ करोड ७३ लाख ६८ हजार ४२१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको चुक्ता पुँजी ४५ करोड रुपैयाँ रहेको छ।
उक्त प्रस्ताव अनुमोदन गर्नका लागि हस्पिटलले मंसिर ६ गते बिहान ११ बजे काठमाडौंमा २८औँ वार्षिक साधारण सभा बोलाएको छ। सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, र चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्तावहरू पेश गरिने छन्।
सन् १९९६ मा स्थापना भएको मेडिकेयर हस्पिटल करिब तीन दशकदेखि स्वास्थ्य सेवा क्षेत्रमा सक्रिय छ। सानिमा र महतो ग्रुपको संयुक्त लगानीमा सञ्चालित यो अस्पतालमा ८७ सैय्याको सुविधा उपलब्ध छ। वित्तीय विवरणअनुसार, हस्पिटलले सन् २०२४ मा ५४ करोड ९० लाख रुपैयाँ, सन् २०२३ मा ५० करोड १० लाख रुपैयाँ, र सन् २०२२ मा ४७ करोड २० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो।
मेडिकेयर हस्पिटलले नियमित रूपमा सेवा विस्तारका साथै आधुनिक स्वास्थ्य प्रविधिको प्रयोगमार्फत गुणस्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ।

Online Arthik









