हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कपिलकुमार दाहाललाई नयाँ **प्रमुख कार्यकारी अधिकृत (सीईओ)**मा नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको कात्तिक १२ गते बसेको बैठकले दाहाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीका अध्यक्ष ईश्वर कुमार सेडाईले जानकारी दिए। यसअघि दाहालले कम्पनीमा निमित्त सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए। पूर्व सीईओ मनोज कुमार लाल कर्णले पदबाट राजीनामा दिएपछि दाहाललाई औपचारिक रूपमा सीईओको जिम्मेवारी दिइएको हो।
४७ वर्षका दाहाल चार्टर्ड एकाउण्टेन्ट (CA) हुन्। उनले सन् २००९ मा भारतको चेन्नईस्थित आईसीएआई (ICAI) बाट सीए उपाधि हासिल गरेका थिए। सर्लाही जिल्ला ढुंगे्रखोला नगरपालिका–४का बासिन्दा दाहाल १५ वर्षभन्दा बढी समयदेखि बीमा, लेखा, वित्तीय व्यवस्थापन र लेखा परीक्षण क्षेत्रमा सक्रिय रहँदै आएका छन्। दाहालले बीमा, कर प्रणाली, सूचना व्यवस्थापन, व्यवसाय व्यवस्थापन, एएमएल, आईएफआरएस र एनएफआरएस सम्बन्धी विभिन्न व्यावसायिक तालिमहरू लिएका छन्। उनको अनुभव र दक्षताले हिमालयन लाइफ इन्स्योरेन्सलाई अझ सुदृढ र प्रतिस्पर्धी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

Online Arthik










