बैंक तथा वित्तीय संस्थाबाट तत्काल ठूलो मात्रामा कर्जा प्रवाह नबढेपछि नेपाल राष्ट्र बैंकले दीर्घकालीन निक्षेप संकलन प्रक्रिया तीव्र पारेको छ। बजारमा लगानीयोग्य रकम बढेपछि राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि लामो अवधिका निक्षेप संकलन उपकरण प्रयोग गर्न थालेको हो।
राष्ट्र बैंकले आइतबार ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरेको छ। गत बुधबार पनि बैंकले १७५ दिन अवधिको निक्षेप संकलनमार्फत ४० अर्ब रुपैयाँ उठाइसकेको थियो।
हाल कुल निक्षेप ७४ खर्ब रुपैयाँ नाघेको छ। बैंकहरूमा थुप्रिएको अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले यो कदम चालेको हो। आइतबार हुने बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्।
न्यूनतम बोल रकम १० करोड र अधिकतम रकम कुल आह्वान रकममा ५ करोडले निःशेष भाग जाने गरी निर्धारण गरिएको छ। बोलकबोलमार्फत निर्धारण हुने ब्याजदरका आधारमा सबैभन्दा कम दर बोल गर्ने संस्थालाई प्राथमिकता दिइने राष्ट्र बैंकले जनाएको छ।
बोलकबोलको सावाँ तथा ब्याज २०८३ साल वैशाख १३ गते भुक्तानी हुनेछ। यो कदमले बजार ब्याजदर स्थिर राख्दै वित्तीय प्रणालीको अधिक तरलता नियन्त्रणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।


Online Arthik











