नबिल बैंकले समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत छैटौं ‘नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप’ (एनएसएस) फेलोसिप सुरु गरेको छ। यस कार्यक्रमको उद्देश्य गरिबी निवारण र समावेशी दिगो उद्यम प्रवर्द्धन गर्नु हो। यसअघि ५ वटा फेलोसिपमा ७६ उद्यमीले आवश्यक वित्तीय र प्राविधिक सहयोग पाएका छन् भने ६२ वटा नयाँ उद्यम स्थापना भएका छन्, जसले १,१७२ प्रत्यक्ष र १३,२९५ अप्रत्यक्ष रोजगारी सिर्जना गरेका छन्।
फेलोसिप नेपालका सामाजिक उद्यमीका लागि खुला छ, जसले सामाजिक समस्या समाधान गर्न र गरिबी घटाउन प्रतिबद्धता देखाउनुपर्छ। महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, वैदेशिक रोजगारीबाट फर्किएका तथा दुर्गम क्षेत्रका आवेदकलाई प्राथमिकता दिइनेछ। सहभागी उद्यमीले कृषि, हस्तकला, हरित ऊर्जा, सूचना प्रविधि, सीप विकास, सांस्कृतिक पर्यटन लगायतका क्षेत्रमा उद्यम सञ्चालन गर्न सक्छन्।
कार्यक्रम कार्य–आधारित सिकाइमा केन्द्रित छ र ६ महिनाको आवासीय फेलोसिप हो। सहभागीले निःशुल्क बसोबास, कार्यशाला, फिल्ड भिजिट, नेटवर्किङ कार्यक्रम, अनुभवी सामाजिक उद्यमी र विशेषज्ञबाट व्यक्तिगत परामर्श, सह–सिकाइ अवसर, वित्तीय पहुँच र अन्य स्रोतहरूमा पहुँच पाउनेछन्। हरेक फेलोसिपमा करिब २० उद्यमीलाई चयन गरिनेछ। इच्छुक उद्यमीले अनलाइन आवेदन दिन वा गुगल फारम डाउनलोड गरी इमेल गर्न सक्छन्। आवेदनको म्याद कात्तिक २८ गतेसम्म रहेको छ।
यो कार्यक्रम समावेशी विकासमा योगदान दिने र नवप्रवर्तनात्मक सामाजिक उद्यमलाई प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरिएको छ।

Online Arthik










