नेपाल चेम्बर अफ कमर्स र विश्व बैंक समूहबीच नेपालको निजी क्षेत्रको अवस्था, लगानीका अवसर र हालका चुनौतीबारे उच्चस्तरीय छलफल सम्पन्न भएको छ। चेम्बर भवन, जमलमा आयोजित छलफलमा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल, पदाधिकारी, उद्योगी–व्यवसायी तथा विश्व बैंक समूहका साउथ एसिया लिड इकोनोमिस्ट मर्चिन पियाट्कोस्की नेतृत्वको टोलीको सहभागिता रहेको थियो।

छलफलमा अध्यक्ष अग्रवालले नेपालको प्राकृतिक स्रोतसम्पन्नता, युवा जनशक्ति, कम उत्पादन लागत र अनुकूल लगानी वातावरणका कारण मुलुक वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य बन्न सक्ने बताए। उनले भौतिक पूर्वाधार, कृषि, ऊर्जा, पर्यटन, खानी र औषधिजन्य वनस्पति क्षेत्रमा लगानीका ठूलो सम्भावना रहेको उल्लेख गर्दै नीति स्थायित्व र कार्यान्वयन क्षमताको सुदृढीकरणमा जोड दिए।

विश्व बैंकका प्रतिनिधि पियाट्कोस्कीले नेपालको निजी क्षेत्र सुदृढीकरणका लागि संस्थागत सुधार, लगानी प्रवर्द्धन, नीति सामञ्जस्य र नवप्रवर्तनमा ध्यान दिनुपर्ने बताए। छलफलमा दुवै पक्षले दीगो आर्थिक विकासका लागि सहकार्य र नीतिगत संवादलाई अझ सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया