न्युयोर्क सिटीका नवनिर्वाचित मेयर जोहरान क्वामे ममदानीले आफ्नो पहिलो आधिकारिक दिन नेपाली स्वादका साथ सुरु गर्दै इतिहास रचेका छन्। चुनावमा पूर्वगभर्नर एन्ड्र्यु कुमो र रिपब्लिकन कर्टिस स्लिभालाई पराजित गरी ममदानी न्युयोर्कका पहिलो मुस्लिम, दक्षिण एसियाली र भारतीय मूलका मेयर बनेका हुन्।

बुधबार उनले क्वीन्सको ज्याक्सन हाइट्सस्थित नेपाली रेस्टुरेन्ट ‘लालिगुरास बिस्ट्रो’मा कङ्ग्रेसवुमन अलेक्जान्ड्रिया ओकासियो–कोर्टेज (AOC) सँग लन्च गर्दै नेपाली मोमो, चाउमिन र दूधको चिया खाएका छन्। ममदानीले सामाजिक सञ्जालमा तस्बिरहरू शेयर गर्दै “मेयर निर्वाचित भएको पहिलो दिनको हाइलाइट — AOC सँग लालिगुरास बिस्ट्रोमा लन्च” लेखेका छन्।

३४ वर्षीय ममदानी, प्रसिद्ध भारतीय फिल्ममेकर मीरा नायर र युगान्डाली विद्वान महमूद ममदानीका छोरा हुन्। उनी दक्षिण एसियाली संस्कृतिप्रति निकट रहँदै चुनावी अभियानमा पनि ‘मोमो’ र ‘चिया’लाई सांस्कृतिक सम्पर्कका प्रतीकका रूपमा प्रयोग गर्थे।

उनको यो ‘फुड डिप्लोमेसी’ले नेपाली समुदायमा उत्साह ल्याएको छ भने अमेरिकी मिडियामा पनि व्यापक चर्चा पाएको छ। कतिपयले यो घटनालाई ‘विविधताको उत्सव’ भनेका छन्।

तपाईको प्रतिक्रिया