चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कालिका लघुवित्तले २ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.६२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्थाको नाफा १ करोड ७० लाख रुपैयाँ रहेको थियो।
वित्तीय विवरणअनुसार, कालिकाले १० करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी र १ करोड ३१ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी आर्जन गरेको छ। संस्थाको कुल सञ्चालन आम्दानी ११ करोड रुपैयाँ नाघेको छ भने सञ्चालन खर्च २०.५४ प्रतिशतले बढेर ८ करोड १० लाख रुपैयाँ पुगेको छ।
संस्थाको चुक्तापूँजी ४० करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ७ करोड ३६ लाख र रिजर्भ २९ करोड ९४ लाख रुपैयाँ रहेको छ। निक्षेप संकलन १ अर्ब ६६ करोड र कर्जा प्रवाह ४ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ।
तर, खराब कर्जा अनुपात अघिल्लो आवको ४.२४ प्रतिशतबाट बढेर ६.४० प्रतिशत पुगेको छ। समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा ६ करोड १९ लाख र वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी १५.१९ रुपैयाँ रहेको छ। संस्थाको प्रतिसेयर आम्दानी १९.९६ रुपैयाँ र नेटवर्थ १९१.५१ रुपैयाँ कायम भएको छ।

Online Arthik










